भ्रमको खेती र नेपालका कम्युनिष्टहरू: राष्ट्रवाददेखि समृद्धिसम्मको पाखण्ड

२०८२ मङ्सिर २४ बुधवार
सारांश
  • अब्राहमिक मतमा आस्था राख्नेहरूले आफु बाहेकलाई 'शैतान' र 'काफिर'को उपमा दिएर शत्रु करार गरे जस्तो कम्युनिष्टहरूले गैर कम्युनिष्टहरूलाई 'वर्ग शत्रु' करार गर्छन र वर्ग शत्रुको सफाया गर्नु उनीहरूको मूल ध्येय ठान्छन।

नेपालको राजनीतिमा कम्युनिष्ट दलहरूको वर्चस्व लामो समयदेखि कायम छ। '‘समृद्ध नेपाल, सुखी नेपाली' को नारा होस् वा 'समानता र न्याय' को वकालत, कम्युनिष्टहरूले जनतालाई सधैं ठूला सपनाहरू बाँड्दै आएका छन्। तर, सिद्धान्त र व्यवहारको कसीबाट हेर्दा नेपालका कम्युनिष्टहरूले जनतालाई भ्रमको जालोमा फसाउँदै आएको देखिन्छ।

 

के कम्युनिष्टहरू साँच्चै राष्ट्रवादी हुन् ? के उनीहरूबाट आर्थिक समृद्धि सम्भव छ ? विश्वमै असफल सिद्ध भइसकेको विचारलाई बोकेर नेपाललाई कहाँ पुर्‍याउन खोजिँदैछ ? यी प्रश्नहरूको निर्मम समीक्षा गर्न अब ढिला भइसकेको छ।

 

यहाँ नेपालका कम्युनिष्टहरूले कसरी विरोधाभासपूर्ण चरित्र देखाइरहेका छन् भन्ने विषयलाई विभिन्न कोणबाट विश्लेषण गरिएको छ:

नक्कली राष्ट्रवादको पर्दा
नेपालका कम्युनिष्टहरू आफूलाई ‘अब्बल राष्ट्रवादी’ र देशभक्त भएको दाबी गर्छन्। राष्ट्रियताको ठेक्का नै आफूले लिएको जस्तो व्यवहार देखाउँछन्। तर, सैद्धान्तिक रूपमै कम्युनिष्टहरू राष्ट्रवादी हुन सक्दैनन्। कम्युनिष्ट घोषणापत्रले नै भन्छ— "संसारका मजदुर एक होऔँ।" उनीहरूको अन्तिम लक्ष्य भनेको सिमानाहरू भत्काएर एउटा 'वर्गविहीन' अन्तर्राष्ट्रिय समाज निर्माण गर्नु हो। आफ्नो सिद्धान्तमै 'अन्तर्राष्ट्रियतावाद' बोक्नेहरूले देशको सीमा र सार्वभौमिकतालाई सर्वोपरि मान्छन् भन्नु आफैँमा विरोधाभास हो।

 

अझ विडम्बनाको कुरा त के छ भने, जसले यो देशको भूगोल निर्माण गरे, जसले नेपालको एकीकरण गरे, तिनै राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई कम्युनिष्टहरू ‘सामन्ती’ र ‘विस्तारवादी’ देख्छन्। आफ्नो इतिहास, सभ्यता र संस्कृतिलाई ध्वस्त पार्नुलाई 'क्रान्तिकारी' कदम ठान्नेहरू कसरी देशभक्त हुन सक्छन् ? जसले राष्ट्रनिर्मातालाई स्वीकार गर्न सक्दैन, उसले राष्ट्रलाई माया गर्छ भनेर पत्याउनु भ्रम मात्र हो।

 

धर्म ‘अफिम’ तर जातीयता ‘हतियार’: 
कार्ल मार्क्सले भनेका थिए— "धर्म अफिम हो।" यही भनाइलाई नेपालीमा उल्था गरेर कम्युनिष्टहरूले नेपाली समाजको मौलिक आस्था र परम्परामाथि निरन्तर प्रहार गरिरहे। उनीहरू भन्छन्, कम्युनिष्टले कुनै पनि धर्म मान्दैन। तर, जब राजनीतिक स्वार्थको कुरा आउँछ, यिनै कम्युनिष्टहरू (विशेषगरी माओवादी) ले नेपालमा ‘जातीय पहिचान’ को विषालु बीउ रोपे। धर्म नमान्ने भौतिकवादीहरूले जातीयता जस्तो संकीर्ण विषयलाई राजनीतिक मुद्दा बनाउनु हास्यास्पद र पाखण्डी चरित्र होइन र ?

 

यसमा अर्को गम्भीर पक्ष पनि लुकेको छ। कम्युनिष्टहरूको 'धर्म विरोधी' अभियान केवल हिन्दु धर्म र यहाँका मौलिक संस्कृतिप्रति मात्र लक्षित देखिन्छ। उनीहरू हिन्दु धर्ममा मात्र अन्धविश्वास र रूढिवाद देख्छन्, तर आयातित अब्राहमिक मत प्रति मौन रहन्छन् वा सहिष्णु बन्छन्। यो उनीहरूको दोहोरो चरित्र मात्र होइन, 'इम्पिटि ग्लास थ्योरी' (Empty Glass Theory) को अभ्यास पनि हो। अर्थात्, पहिले यहाँको मौलिक संस्कृति र धर्मप्रतिको विश्वास भत्काएर 'गिलास खाली' गर्ने र त्यसपछि त्यसमा आयातित बाह्य विचार र आस्था प्रणाली भर्ने। नेपालमा पहिचानको राजनीति सुरु भएदेखि नै यहाँको वास्तविक पहिचान र सहिष्णुता सङ्कटमा पर्नु यसैको उपज हो।

 

पुँजीको अपमान, ‘क्रोनी क्यापिटलिजम’ र समृद्धिको बाधक
कम्युनिष्टहरू भाषणमा ‘दलाल पुँजीवाद’ को विरोध गर्छन्, तर व्यवहारमा उनीहरू नै ‘क्रोनी क्यापिटलिजम’ (आसेपासे पुँजीवाद) का सबैभन्दा ठूला संरक्षक बनेका छन्। उनीहरूको समाजवादी आर्थिक नीतिले खुला बजारमा स्वच्छ प्रतिस्पर्धालाई निरुत्साहित गर्छ र सत्ताको नजिक रहेका सीमित व्यापारिक घरानालाई मात्र पोस्ने काम गर्छ। यसले कालोबजारी, असमानता र भ्रष्टाचारलाई प्रोत्साहन गरिरहेको छ नै साथै लगानीकर्ताहरूले ढुक्कले लगानी गर्न सक्ने परिस्थिति बनिरहेको छैन।  

 

नेपालका कम्युनिष्टहरू निजी सम्पत्ति र नाफा कमाउनुलाई ‘पाप’ वा ‘शोषण’ को रूपमा व्याख्या गर्छन्। जब राज्यले नै उद्यमी र व्यवसायीलाई ‘शोषक’ को बिल्ला भिराउँछ, तब देशमा औद्योगिक वातावरण कसरी बनोस ? परिणामतः आज देशका लाखौँ उत्पादनशील युवाहरू रोजगारीको खोजीमा विश्वभर भौतारिन बाध्य छन्। निजी क्षेत्रलाई तर्साउने, लगानीको वातावरण नबनाउने तर कार्यकर्ता पाल्न राज्यको ढुकुटी रित्याउने गरी सरकार नै बाटो, पुल, भवन संरचना बनाउन तम्सिने जस्तो राज्य नियन्त्रित अर्थ नीतिले देशलाई कंगाल बनाउदै गएको छ भने अर्कोतर्फ ‘वितरणमुखी’ नीतिले अर्थतन्त्रलाई परनिर्भर बनाईरहेको छ। 

 

उनीहरूले वकालत गर्ने ‘समाजवाद उन्मुख अर्थतन्त्र’ ले न त पुँजीको सिर्जना गर्छ न त गरिबी निवारण नै; यसले केवल गरिबीको समान वितरण मात्र गर्छ। संसारका जुन-जुन देशले सम्पत्ति सिर्जना (Wealth Creation) लाई प्राथमिकता दिए, तिनै देश धनी भएका छन्, तर कम्युनिष्टहरू सधैं सम्पत्ति वितरणको कुरा गरेर सिर्जनाको मुहान नै थुन्न उद्द्यत देखिन्छन्।

 

कूटनीतिक विचलन: भू-राजनीतिक सन्तुलनमा खतरा:
नेपालको भू-राजनीति अत्यन्त संवेदनशील छ। तर, कम्युनिष्टहरू सत्तामा रहँदा वा बाहिर हुँदा उनीहरूको विदेश नीति 'राष्ट्रिय हित' भन्दा पनि 'वैचारिक निकटता' मा आधारित देखिन्छ। लोकतान्त्रिक मुलुकहरू (जस्तै अमेरिका, जापान, भारत) नेपालका प्रमुख विकास साझेदार हुन्, जसले नेपालको पूर्वाधार, शिक्षा र स्वास्थ्यमा दशकौँदेखि सहयोग गरिरहेका छन्। तर, कम्युनिष्टहरू यी देशहरूलाई सधैं शङ्काको दृष्टिले हेर्छन् र आफ्ना कार्यकर्तालाई ‘साम्राज्यवादी’ को भूत देखाएर भड्काउँछन्।

 

चीन, रसिया र उत्तर कोरियाजस्ता एकदलीय व्यवस्था भएका देशहरूप्रति उनीहरूको अस्वाभाविक झुकाव र भक्तिभावले नेपालको ‘परराष्ट्र नीति’ र 'विदेश सम्बन्ध' लाई कमजोर बनाएको छ। एमसीसी (MCC) सम्झौताको समयमा कम्युनिष्ट दलहरूले देखाएको दोधारे चरित्र—सरकारमा हुँदा पास गर्ने र प्रतिबद्धता जनाउने तर सडकमा कार्यकर्ता उचालेर बिरोध गराउने—प्रवृत्तिले अन्तर्राष्ट्रिय समुदायमा नेपालको विश्वसनीयता गुमाएको छ । बिआरआई सम्झौताको विस्तृत विवरण सार्वजनिक हुनुपुर्व नै हार्दिकताका साथ स्वागत गरे। मानौं बिआरआई आएपछि नेपालीको मुहार बदलिन्छ झैं गरेर। जबकि एमसीसी पास भयो भने देशमा तत्काल अमेरिकी सेना आईहाल्छ जसरी व्याखा गरे। 

 

त्यसैगरी भारतले नेपाललाई गर्ने सहयोग र सम्झौताहरू अधिकांशको बिरोध हुन्छ। नेपालका कम्युनिष्टहरूको दृष्टिमा भारत र अमेरिका जस्ता देशहरूसँग गरिएको विकास साझेदार, द्विपक्षीय संझौता सबैमा राष्ट्रघात हुन्छ। तर उनीहरूको आस्था जोडिएको देशहरूसँग गरिने सम्झौताहरूमा जस्तो सुकै राष्ट्रघात होस्, त्यसमा उनीहरू मौन रहन्छन । केबल कम्युनिष्ट विचारधारा मिलेकै आधारमा कुनै देशसँग नजिकिने र प्रजातान्त्रिक भएकै आधारमा कुनै देशसँग टाढिने नीतिले नेपाललाई भू-राजनीतिक द्वन्द्वको खेलमैदान बनाउन सक्छ।

 

लोकतन्त्र: भर्‍याङ मात्र, गन्तव्य होइन:
कम्युनिष्टहरूका लागि लोकतन्त्र र निर्वाचन केवल सत्तामा पुग्ने 'भर्‍याङ' मात्र हुन्। लेलिनले नै भनेका थिए— "कम्युनिष्टहरूले संसदलाई त्यहीँ भित्रबाट ध्वस्त पार्नका लागि प्रयोग गर्नुपर्छ।" नेपालका कम्युनिष्टहरूको व्यवहार हेर्दा उनीहरू यही पथमा देखिन्छन्। उनीहरू 'जनवाद' को कुरा गर्छन्, तर त्यो 'जनवाद' मा स्वतन्त्र प्रेस, स्वतन्त्र न्यायालय र मानव अधिकारको गुन्जायस हुँदैन।

 

पार्टीभित्र ‘जनवादी केन्द्रीयता’ को नाममा नेतृत्वको देवत्वकरण गरिन्छ र फरक मत राख्नेलाई ‘गद्दार’ घोषणा गरेर पाखा लगाइन्छ। जसले आफ्नै पार्टीभित्र लोकतन्त्रको अभ्यास गर्न जान्दैनन्, तिनले देशमा लोकतन्त्र बलियो बनाउँछन् भन्नु दिवास्वप्न मात्र हो। कम्युनिष्ट सत्ताहरूले सधैं कर्मचारीतन्त्र, सुरक्षा निकाय र न्यायालयलाई राजनीतिकरण गरेर आफ्नो 'क्याडर' भर्ती केन्द्र बनाउने प्रयास गर्छन्, जुन लोकतन्त्रको आत्मा (चेक एण्ड ब्यालेन्स) विपरित हो।

 

मानवीय स्वतन्त्रता विरुद्ध अनुदार चरित्र:
कम्युनिष्ट दर्शनको केन्द्रमा 'पार्टी' र 'वर्ग' हुन्छ, 'व्यक्ति' हुँदैन। व्यक्तिलाई उनीहरू राज्यको एउटा पुर्जा (साधन) मात्र ठान्छन्। त्यसैले कम्युनिष्ट शासनमा व्यक्तिगत स्वतन्त्रता (Individual Liberty) सधैं कुण्ठित हुन्छ। नेपालमै पनि माओवादी 'जनयुद्ध' को समयमा फरक विचार राख्ने शिक्षक, पत्रकार वा सर्वसाधारणले कस्तो निर्मम यातना भोग्नुपर्‍यो भन्ने कुरा इतिहासमा ताजै छ।

 

आज पनि कम्युनिष्टहरू आफू विरुद्धको आलोचना सुन्न सक्दैनन्। सामाजिक सञ्जालमा होस् वा सार्वजनिक बहसहरूमा, उनीहरू प्रश्न सोध्नेहरूलाई 'सफाय' गर्ने धम्कीपूर्ण भाषा प्रयोग गर्छन् वा 'अरिंगाल' बनेर जाइलाग्छन्। लोकतन्त्रको सुन्दर पक्ष भनेको असहमति राख्न पाउने अधिकार हो, तर कम्युनिष्ट मनोविज्ञानले असहमतिलाई 'शत्रुता' का रूपमा बुझ्छ। अब्राहमिक मतमा आस्था राख्नेहरूले आफु बाहेकलाई 'शैतान' र 'काफिर'को उपमा दिएर शत्रु करार गरे जस्तो कम्युनिष्टहरूले गैर कम्युनिष्टहरूलाई 'वर्ग शत्रु' करार गर्छन र वर्ग शत्रुको सफाया गर्नु उनीहरूको मूल ध्येय ठान्छन।  

 

विश्वबाटै अस्वीकृत असफल प्रयोग: 
सैद्धान्तिक रूपमा सुन्दा जतिसुकै आकर्षक लागे पनि व्यवहारमा कम्युनिष्ट व्यवस्था पूर्णतः असफल भइसकेको छ। २०औँ शताब्दीमा सोभियत संघको विघटन, बर्लिन पर्खालको ढलाई र पूर्वी युरोपबाट कम्युनिष्ट सत्ताको बहिर्गमनले यो विचारको असफलता पुष्टि गरिसकेको छ। भेनेजुएला जस्तो खनिज तेलले धनी देश आज कम्युनिष्ट (समाजवादी) नीतिकै कारण कंगाल बनेर नागरिकहरू देश छोड्न बाध्य छन्। क्युवा र उत्तर कोरियाका जनताले भोगिरहेको गरिबी र दमन लुकेको छैन। के हाम्रा कम्युनिष्टहरूले हामी उत्तर कोरिया, क्युबा वा भेनेजुएला जस्तो देश बनाउछौं भनेर भन्न सक्छन ? के उनीहरू ति कम्युनिष्ट देशहरू प्रति गर्व गर्न सक्छन ? जुन व्यवस्थाको दुनियामा देखाउन लायक उदाहरण समेत छैन त्यस्तो व्यवस्थाको वकालत किन ?

 

अन्त्यमा: 
विश्व राजनीतिमा जब सोभियत संघको विघटनसँगै (सन् १९९१) कम्युनिष्ट सत्ता असफल सिद्ध भइसकेको थियो, र छिमेकी चीनले समेत माओको असफल ‘कम्युनिष्ट समाजवाद’ लाई त्यागेर देङ स्याओपिङको नेतृत्वमा उदार अर्थनीति (सन् १९७८) अङ्गालिसकेको थियो; ति घटनाहरू भएको बर्षौ पछि नेपालमा भने माओवादीले त्यही असफल र म्याद गुज्रिएको व्यवस्था ल्याउने नाममा १७ हजार नेपालीको ज्यान जाने गरी हिंसात्मक युद्ध थोपर्‍यो। हजारौँ नागरिकलाई बेपत्ता पारियो र राज्यका संरचनाहरू ध्वस्त बनाइयो।

 

आज तिनै माओवादीहरू, जसले देशलाई यति ठूलो विध्वंसको खाडलमा जाके, उनीहरू नै अहिले छिन्नभिन्न भएका छन् र व्यवहारतः माओवादलाई तिलाञ्जली दिँदैछन्। एउटा असफल विदेशी विचारको प्रयोगका लागि नेपाली माटोमा बगाइएको रगत र गरिएको यो जघन्य अपराधको जवाफदेहिता कसले लिने ? के भविष्यको कुनै कालखण्ड वा इतिहासको कठघरामा उभिएर यिनीहरूले आफूले गरेको यो ऐतिहासिक अपराधको हिसाब बुझाउनु पर्दैन ? यो प्रश्न आज अनुत्तरित भए पनि इतिहासले यसको जवाफ पक्कै माग्नेछ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

'उर्जा संकटकाल': २८,५०० मेगावाटको लक्ष्य प्राप्ति र नीतिगत अवरोधहरूको निकास

लगानीकर्ताहरूका लागि अर्को ठुलो समस्या सेबोन र आईपीओ निष्कासनमा देखिएको ढिलासुस्ती हो । अहिले करिब ५० वटा जलविद्युत कम्पनीहरूको आईपीओ पाइपलाइनमा छ । महिनामा एउटा कम्पनीलाई मात्र अनुमति दिने हो भने पनि यी सबैलाई ५० महिना लाग्छ ।

थप लेखहरु